काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। त्यसकारण भोलि फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले फागुन १८ गते बिहीबार चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्न लागेको हो । लघुवित्तले सो सभा बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा गर्ने जनाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ६१ दशमलव ८५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ३ दशमलव २५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।