काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकोले सेवा प्रवाहमा समस्या देखिएको बताएका छन् । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले विदाको बारेमा पुनर्विचार गर्न आवश्यक रहेको बताएका हुन् ।
सरकारी विदा धेरै भएकाले जनताको काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समेत समस्या देखिएको उनको भनाई छ । यसबारे मन्त्रीपरिषदमा छलफल गरिसकेको र गृहकार्य गरेर पुनर्विचार गरिने उनले बताए । प्रजातन्त्र, लोकतन्त्र र गाणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिदै आएकोछ, त्यसलाई एकिकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागीता कसरी गर्ने भन्ने थप छलफलको आवश्यकता रहेको उनले बताए ।
उक्त बैठकले प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समिति गठन गर्दै फागुन ७ गते विविध कार्यक्रमकासाथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।