काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस २५ गतेबाट १० वर्षे अवधिको ऋणपत्र निष्काशन गरेको हो । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ ऋणपत्र निष्काशन गरेको हो ।
यस ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने जनाएको छ ।
सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ ।