काठमाडौं । लक्ष्मी र सनराइज बैंकले एक आपसमा मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यी दुई बैंकले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी र सनराइज बैंकले १ः१ को शेयर आदन प्रदान गर्ने गरी मर्ज हुन लागेका हुन् । अर्थात लक्ष्मी बैंकको १ सय कित्ता शेयर हुनेले सनराइज बैंकको पनि १ सय कित्ता नै शेयर पाउने गरी मर्जरमा जान लागेका हुन् ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा लक्ष्मी बैंकबाट हुने र प्रमुख कार्यकारी अधिकृत सिइओ भने दुवै बैंकबाट सहमतिमा राखिने भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ। लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ । सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ। समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले बैंकहरुले धमाधम जोडी खोजी मर्जर गर्दै आइरहेका छन् भने कतिपय बैंकहरु मर्जरको प्रक्रियामा लागिरहेका छन् ।
पछिल्लो समय वाणिज्य बैंकहरुको मर्जरको लहर चलिरहेको छ । यस सातामा ६ वटा बैंक मर्जर भएर तीन वटा हुँदै छन् । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमईले आजबाट एकिकृत कराोबार गरेका छन् भने प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले भोलिबाट एकिकृत कारोबार गर्दैछन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकिकृत कारोबारको मिति तय गरिसकेका छन् ।