काठमाडौं । नेप्सेमा कारोवार हुने २५ वाणिज्य बैंकहरुको मूल्य निकै सस्तोमा पाइन् थालेको छ । अहिले नेप्से १८६७ मा चल्दा पनि अधिकांश वाणिज्य बैंकको शेयर मूल्य ११०० नेप्से पुगेको बेला भन्दा पनि कम रहेको छ । करिव ४ वर्ष अघि नेप्से अघिल्लो बुल (१८८१ ) बाट घट्दै ११०० विन्दु पुग्दा पनि अधिकांश वाणिज्य बैंकको शेयर अहिलेको भन्दा बढी थियो । फागुन १९, २०७५ मा नेप्से अघिल्लो वियर चक्रको न्यून विन्दु ११०० दशमलव ५८ मा बन्द भएको थियो ।
नेप्से परिसूचक ११०० पुगेको दिन भन्दा अहिले १६ वाणिज्य बैंकको शेयर मूल्य सस्तो देखिएको छ । नेप्से परिसूचकमात्र हेरेर लगानीकर्ताले बजारको अवस्था हेर्न नहुने शेयर बजार सम्बन्धी जानकार बताँउछन । त्यसैले लगानीकर्ताले लगानी गर्न पूर्ण नेप्से परिसूचकसँगै सम्बन्धीत कम्पनी र क्षेत्रलाई पनि हेर्न जरुरी छ ।
नेप्से ११०० पुगेको दिन भन्दा आज नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर सर्वाधिक सस्तो देखिएको छ । उक्त दिन नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य ५०० रुपैयाँ रहेकोमा अहिले कम्पनीको बजार मूल्य २१२ रुपैयाँ ९० पैसा रहेको छ । समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता २८७ रुपैयाँ १० पैसा ( ५७%) सस्तो छ ।
त्यस्तै दोश्रोमा प्राइम कमर्सियल बैंकको बजार मूल्य ११०० परिसूचक पुगेको दिन ३०५ रुपैयाँ रहेकोमा हाल २१३ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता ९२ रुपैयाँ ( ३०%) तल छ ।
१० वाणिज्य बैंकको मूल्य २०० मुनी :
२५ वाणिज्य बैंक मध्ये अहिले १० वाणिज्य बैंकको बजार मूल्य २०० मुनी रहेको छ । सिटिजन्स बैंकको बजार मूल्य सबै भन्दा कम १७६ रुपैयाँ रहेको छ भने दोश्रोमा सबै भन्दा सस्तो नेपाल क्रेडिट एण्ड कमर्स बैंक रहेको छ । बैंकको शेयर मूल्य १७६ रुपैयाँ ७० पैसा रहेको छ । सबै भन्दा धेरै मूल्य भएको वाणिज्य बैंकमा नबिल बैंक रहेको छ । बैंकको बजार मुल्य ८१० रहेको छ । त्यस्तै विगत २ आर्थिक वर्ष देखि लाभांश नदिएको एनआईसी एशिया बैंकको बजार मूल्य ६६५ रुपैयाँ २० पैसा रहेको छ ।