काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको ७ हजार १५० कित्ता संस्थापक शेयर मंसिर ८ गतेदेखि लिलामीमा थियो । उक्त शेयर खरीदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूले यही मंसिर २५ गतेसम्म कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर २६ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भएको छ । बाँडफाँडमा परेको बोलपत्रदाताहरूको शेयर खरीद विक्री गर्दा खरीदकर्ताको तर्फबाट तिर्नुपर्ने शेयर दलाल कमिसन तथा अन्य शुल्क खरीदकर्ताले नै तिर्नुपर्ने कम्पनीले जनाएको छ ।