काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आज विशेष साधारण सभा गर्दैछछ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्ताव सहित विशेष साधारण सभा गर्ने जनाएको छ । कम्पनीको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ । विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मंसिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्ने जनाएको छ ।
सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट तीन जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको सुचना पाटीमा प्रकाशित गरे बमोजिम हुने कम्पनीले जनाएको छ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।