काठमाडौं । जाडो महिना भए पनि लाभांशले नेपाली शेयर बजारमा माहोल तताएको छ । पुस महिना आउँदै गर्दा कम्पनीहरुलाई साधारणसभा सकाउने हतार परेको छ । त्यसैको प्रभाव वाणिज्य बैंकहरुमा पनि देखिन थालेको छ ।
आर्थिक वर्ष ७८/ ७९ सम्मको वितरणयोग्य संचित नाफाबाट १५ वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्दा ११ बैंकले भने अहिलेसम्म लाभांश घोषणा गरेको अवस्था छैन् ।
लाभांश घोषणा नगरेका वाणिज्य बैंक:
लक्ष्मी बैंक, माछापुछ्रे बैंक, हिमालयन बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, कृषि विकास बैंक, सिभिल बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
दोश्रो बजारमा सस्तो मूल्य र निरन्तर लाभांश दिने छवि बनाएको वाणिज्य बैंकहरुको लाभांशले बजार तताउनु स्वभाविक रहेको जानकारहरु बताउँछन् । त्यस्तै, नियामक निकायको निर्देशन बमोजिम केही बैंकको लाभांश रोकिन्छ की भन्ने चर्चाले पनि शेयर बजारमा निकै ठूलो स्थान पाउने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष ७७/७८ मा भने एनआईसी एशिया बैंक बाहेक सबै बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश दिएका थिए ।