विजय तामाङ
निक्षेप तथा कर्जा सुरक्षण कोष वि.स.२०३१ आश्विन ४ मा निक्षेप तथा कर्जा सुरक्षण निगम प्रा.लि. को नामबाट स्थापना भएको हो । हाल निक्षेप तथा कर्जा सुरक्षण ऐन, २०७३ बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा सञ्चालित छ । निक्षेप तथा कर्जा सुरक्षण कोष सरकारको पूर्ण स्वामित्वमा सञ्चालित अर्थ मन्त्रालयको मातहतमा रहने वित्तीय क्षेत्रमा वर्गीकृत भएको एक सार्वजनिक संस्था हो । यस कोष मार्फत आ.व.२०३१/३२ बाट नै कर्जा सुरक्षण कार्यको सुरुवात भएको थियो ।
कोषले हाल नेपाल सरकारले लागू गरेको कर्जा कार्यक्रम अन्तर्गत धितो सुरक्षण नलिई सामूहिक जमानीमा वा चल अचल सम्पत्ति वा परियोजना धितोमा राखि सदस्य संस्थाले प्रवाह गरेको लघु वित्त तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्यम कर्जा, कृषि कर्जा, शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा, निर्यात व्यवसाय अन्तर्गत ऋणीलाई प्रवाह भएको कर्जा जस्ता कर्जाहरुको सुरक्षण गर्दै आइरहेको छ । त्यस्तै निक्षेपको सुरक्षण भने आ.व.२०६६/०६७ को राष्ट्रिय बजेटमा निक्षेप सुरक्षणको व्यवस्था र आ.व.२०६७/०६८ को मौद्रिक नीतिमा निक्षेप सुरक्षणको व्यवस्था भए बमोजिम निक्षेप सुरक्षण विनियमावली २०६७ लागु भई नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको नाममा कल, चल्ती, बचत तथा मुद्धति खातामा प्रति निक्षेपकर्ता प्रति बैंक/वित्तीय संस्थामा रहेको २ लाखसम्मको अनिवार्य निक्षेप सुरक्षण गराउनु पर्ने व्यवस्थाको सुरुवात भएको हो । आ.व.२०७४/०७५ मा निक्षेप सुरक्षणको सीमा वृद्धि भई ३ लाख पुगेको थियो । हाल निक्षेप सुरक्षण सम्बन्धमा निक्षेप सुरक्षण नियमावली, २०७५ कार्यन्वयनमा छ । त्यस्तै आ.व.२०७९/८० को बजेटमा व्यवस्था भए बमोजिम २०७९ श्रावण १ गतेदेखि लागू हुने गरी नेपाल सरकारको अर्थ मनत्रालयबाट बैंक/वित्तीय संस्थाले ५ लाखसम्मको निक्षेप अनिवार्य सुरक्षण गराउनु पर्ने निर्णय समेत भइसकेको छ ।
यस कोषले निक्षेप तथा कर्जा सुरक्षणको अलाव पशुधन सुरक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ । कोषबाट आ.व.२०४३/४४ बाट पशुधन सुरक्षण कार्यको सुरुवात भएको इतिहास पाइन्छ । हाल कर्जा सुरक्षण नियमावली, २०७५ मार्फत पशुधन सुरषण कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । सुरक्षण जोखिम व्इवस्थापनको औजार हो । यसले सम्भावित जोखिमबाट हुन सक्ने क्षति विरुद्ध वित्तीय सुरक्षा उपलब्ध गराउँछ । सुरक्षण भविष्यमा उत्पन्न हुन सक्ने जोखिम वा संकटका विरुद्ध आर्थिक सुरक्षण प्रदान गर्ने कानूनी करार पनि हो । नेपालमा बाली तथा पशुपन्क्षी बीमा कार्यक्रम अन्तर्गत २० निर्जीवन कम्पनीहरुले पशु बीमा सञ्चालनको अनुमति लिएका छन् । जसको लागि बीमा ऐन, २०४८ बीमा नियमावली, २०४९ र बीमा समितिको कृषि बीमा निर्देशिका बमोजिम पशुधन बीमा कार्यक्रम सञ्चालन गर्दछन् । तर निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नै कर्जा सुरक्षण नियमावली मार्फत पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बीमा ऐन, नियमावली र निर्देशिकाबाट सञ्चालित नभएकै कारण बीमा शब्दकाृ सट्टा सुरक्षण शब्दको प्रयोग गरिन्छ । प्रत्यक्ष कृषकको घर गोठमा नगई सदस्य संस्था मार्फत प्रदान गरिएको कर्जाबाट खरिद पशुधनको सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको हुँदा सामान्यतया बीमाकै रुपमा सुरक्षणलाई लिने गरिएता पनि यसमा तात्विक भिन्नता रहेको छ ।
पशुधन सुरक्षण कार्यक्रमको उदेश्य
१.पशुधनको मृत्युबाट हुने हानी/नोक्सानीमा क्षतिपूर्ति प्रदान गर्नु ।
२.दुग्ध तथा दुग्धजन्य र मासुजन्य पदार्थको आपूर्ति वृद्धि गर्नु ।
३.पशुधनको मृत्युबाट असूलीमा पर्न सक्ने जोखिम न्यून गर्नु ।
४.बैंक तथा वित्तीय संस्थामा कृषकको पहुँच पुर्याउनु ।
५.स्वरोजगारको अवसर सृजना तथा आयस्रोतमा वृद्धि गर्न सहयोग पुर्याउनु ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको आर्यान्वयनमा रहेको कर्जा सुरक्षण नियामवली, २०७५ मा पशुधन सुरक्षण कार्यक्रमका लागि व्यवस्था गरिएको मुख्यमुख्य प्रचलित कानूनी व्यवस्थाको देहाय अनुसार चर्चा गरिएको छ ।
पशुधनको सुरक्षण सम्बन्धमा
१.सदस्य संस्थाले प्रदान गरेको कर्जाबाट खरिद गरेका पशुधनको यस नियमावली बमोजिम सुरक्षण गर्नु पूर्व कोषसँग सम्झौत गर्नु पर्नेछ ।
२.सम्झौता पश्चात सदस्य संस्था आफूले प्रदान गरेको कर्जाबाट खरिद गरेको पशुधनको अनिवार्य सुरक्षण गराउनु पर्नेछ ।
३.कर्जा लिएको मितिले ३५ दिनभित्र खरिद गरिएको पशुधनको पशु सेवा कार्यालय वा कोषले तोकेको प्राविधिकबाट उक्त पशुधनको स्वास्थ्य परिक्षण गराउनु पर्नेछ ।
४.स्वास्थ्य परिक्षण गर्दा त्यस्तो पशुधन स्वस्थ र निरोगी प्रमाणित भएमा संकेत पट्टा लगाई दिनु पर्नेछ ।
५.पशुधन खरिद गरेको ऋणीले पशुधन सुरक्षणको लागि सम्बन्धित सदस्य संस्थामा सहमतिपत्र, स्वास्थ्य परीक्षण प्रमाणपत्र, पशुधनको विवरण तथा अन्य उल्लेखित विवरण कागजात पेश गर्नु पर्नेछ ।
६.विवरण प्राप्त भए पश्चात मनासिब देखिएमा सदस्य संस्थाले त्यस्तो पशुधनको सुरक्षण लेखा जारी गर्न साठी दिनभित्र कोषमा पठाउनु पर्नेछ ।
७.कोषमा विवरण कागजात प्राप्त भए पश्चात मनासिब देखिए नब्बे दिनभित्र त्यस्तो पशुधनको सुुरक्षण लेखा जारी गर्नु पर्नेछ ।
८.सदस्य संस्थाबाट कर्जा लिई खरिद गरेको पशुधनको देहाय बमोजिमको सीमासम्म सुरक्षण हुनेछ ।
पशुधनको किसिम र सुरक्षण हुने अधिकतम सीमा
गाई : उन्नत जातको भएमा अधिकतम १ लाख ५० हजारसम्म सुरक्षण हुन्छ । स्थानिय जातको भएमा ५० हजारसम्म सुरक्षण हुने गर्दछ ।
भैंसी : उन्नत जातको भैंसीमा अधिकतम १ लाख ५० हजार र स्थानिय जातको भैंसीमा ८० हजारसम्म सुरक्षण हुन्छ ।
गाईको बाच्छी : उन्नत जातको बाच्छीमा ५० हजार र स्थानिय जातकोमा १० हजारसम्म सुरक्षण हुने ।
भैंसीको पाडी : उन्नत जातकोमा ५० हजारसम्म र स्थानिय जातकोमा ४० हजारसम्म सुरक्षण हुने ।
साँढे/याक/राँगा/गोरु : प्रजननको लागि उन्नत जातको साँढे, याक वा राँगाको १ लाख ५० हजारसम्म र ढुवानी वा जोत्नका लागि गोरु वा राँगोको ५० हजारसम्म सुरक्षण हुन्छ ।
घोडा/घोडी/खच्चड/झोपा/गधा : ढुवानीको लागि प्रति खच्चड। घोडा, घोडी वा झोपाको १ लाखसम्म, टाँगा व्यवसायको लागि प्रति घोडा वा घोडीको लागि १ लाखसम्म र ढुवानीको लागि प्रति गधाको ७० हजारसम्म सुरक्षण हुने व्यवस्था रहेको छ ।
भेडा/च्याङ्ग्रा/बंगुर/बाख्रा/बोका / प्रजननको लागि प्रति भेडा, बाख्रा, च्यांग्रा र बोकाको ३० हजारसम्म, मासु उत्पादनको लागि प्रति भेडा, च्यांग्रा र बोकाको २० हजारसम्म र मासु उत्पादनको लागि २ वर्ष उमेर ननाघेका प्रति बंगुरको ३० हजारसम्म सुरक्षण हुने व्यवस्था रहेको छ ।
(तामाङ निक्षेप तथा कर्जा सुरक्षण कोषमा कार्यरत छन् ।)