काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा बैंकको खुद नाफा ४१ दशमलव ३० प्रतिशत बढेको छ । यस अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४ दशमलव ०५ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ५२ दशमलव ९९ प्रतिशत र सञ्चालन मुनाफा ४० दशमलव ३८ प्रतिशतले बढेको छ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २ दशमलव २९ प्रतिशत बढेको छ । निक्षेप २ दशमलव ४१ प्रतिशतले बढेको छ भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बै.कको कर्जा लगानी १ दशमलव ५४ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ ५८ पैसाले घटेको छ । यस अवधिमा बैकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ५३ पैसामा झरेको छ।