काठमाडौं । सानिमा इक्विटी फण्डले इकाईधनीहरूलाई लाभांश वितरण गरेको छ । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कर समेत २२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
असोज १३ गतेदेखि नै सम्बन्धित इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न शुरु गरिएको जानकारी क्यापिटलले दिएको छ । प्रस्तावित लाभांश प्रयोजनका लागि योजनाले असोज ९ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज ६ गते बिहीवारसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् ।
आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र लाभांश जम्मा गरिने जानकारी क्यापिटलले दिएको छ ।