काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंक बिचमा एक बराबर एकको अनुपातमा मर्ज गर्ने सहमति भएको छ । मर्जर पछि बैंकको नाम कुमारी बैंक हुनेछ ।
मर्जर पश्चात वित्तीय रुपमा कस्तो देखिने छ कम्पनी :
चुक्ता पुँजी :
कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रहेको छ भने एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रहेको छ । एक बराबर एकको स्वापमा मर्जरमा जाने कुरासँगै मर्जर पश्चात बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुने छ ।
जगेडा कोष :
शेयर प्रिमियम, संचित नाफा र जगेडा कोषलाई जोडेर हेर्दा कुमारी बैंकको जगेडामा ६ अर्ब ४७ करोड रहेको छ भने एनसीसी बैंकको जगेडामा ५ अर्ब ३२ करोड रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीको जगेडामा ११ अर्ब ७९ करोड संचित हुने छ।
शेयरधनी कोष :
कुमारी बैंकको शेयरधनी कोषमा २१ अर्ब १८ करोड रहेको छ भने एनसीसी बैंकको शेयरधनी कोषमा १६ अर्ब ४६ करोड छ । मर्जर पश्चात बन्ने कम्पनीको शेयरधनी कोषमा ३७ अर्ब ६४ करोड हुने छ ।
खुद नाफा :
कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८३ करोड नाफा कमाउँदा एनसीसी बैंकले २ अर्ब २ करोड नाफा कमाएको थियो ।
प्रति शेयर आम्दानी :
कुमारी बैंकको वार्षिक प्रति शेयर आम्दानी १९ रुपैयाँ २७ पैसा हुँदा एनसीसी बैंकको १८ रुपैयाँ १५ पैसा छ ।
किताबी मूल्य :
कुमारी बैंकको प्रति शेयर नेट्वर्थ १४४ रुपैयाँ हुँदा एनसीसी बैंकको १४७ रुपैयाँ माथि छ।
बजार मूल्य : मर्जर हुनु अघि कुमारी बैंकको बजार मूल्य १८६ रुपैयाँ हुँदा एनसीसी बैंकको १८४ रुपैयाँ थियो । एक बराबर एक स्वापको कारणले गर्दा दुवै शेयरधनीलाई खासै ठूलो फरक परेन ।