काठमाडौं । कुमारी बैंक र एनसिसी बैंक मर्जरको अन्तिम तयारीमा जुटेका छन् । सबै कुरामा सहमति जुटेमा आजै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको स्रोतको दाबी छ । दुबै बैंकका लगानीकर्ताहरु बराबरी हैसियत एक बराबर एकको अनुपातमा मर्जर गर्न सहमत भएका हुन् ।
मर्जर पछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसिसीका रमेश राज अर्याल र डिसिइओमा कुमारीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल रहने सहमति पनि भइसकेको छ । अध्यक्षमा पनि एनसिसीकै उपेन्द्र केशरी न्यौपाने रहनेछन् । पुस भित्रै मर्जर प्रकृयाँ सक्ने दुबै बैंक विचमा सहमति समेत जुटिसकेको स्रोतको दाबी छ ।
अहिले कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ छ । मर्जर पछि चुक्ता पूँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ । निक्षेप संकलन तर्फ हेर्ने हो भने भदौ मसान्तमा एनसिसीको एक खर्ब २८ अर्ब रुपैया छ भने कुमारीको एक खर्ब ७८ अर्ब रुपैयाँ छ । मर्जर पछि बैंकको निक्षेप तीन खर्ब ६ अर्ब रुपैयाँ नाघ्नेछ ।
त्यस्तै कर्जा लगानी तर्फ भदौ मसान्तमा एनसिसीको एक खर्ब १८ अर्ब रुपैयाँ छ भने कुमारीको एक खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ । मर्जर पछि कर्जा लगानी २ खर्ब ७७ अर्ब रुपैयाँ पुग्नेछ ।
जगेडा कोष तर्फ कुमारी बैंकको ४ अर्ब ६१ अर्ब रुपैयाँ छ भने एनसिसीको तीन अर्ब ८४ करोड रुपैयाँ छ । मर्जर पछि जगेडा कोष ८ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । पछिल्लो वित्तीय विवरण अनुसार एनसिसीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने कुमारीको १९ रुपैयाँ छ ।
कुमारीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ छ भने एनसिसीको १४७ रुपैयाँ छ । दुबै बैंकको अधिकाम्स सूचकमा समानता छ । दोस्रो बजारमा भने कुमारीको १८६ रुपैयाँ र एनसिसीको १८४ रुपैयाँ छ ।