काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । यस प्रतियोगिता भने नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको हो ।
भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको हो।
प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने आयोजकले अनुमान गरेको छ । खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रवन्ध सबै नेपाल स्नुकर तथा पूल संघले गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताए । दुई वर्षअघि आयोजित कार्यक्रममा ४३ जिल्लाका खेलाडी सहभागी थिए ।
स्नुकर खेलमा १४७ ब्रेक प्वाइन्ट सबैभन्दा धेरै हो । १५ रातो र १५ कालो बल लगातार होलमा छिराएर त्यति अंक ल्याउनु अविश्वसनीय मानिन्छ । त्यसैलै आश्चर्यजनक नतिजा निकाल्नेलाई १० लाख रुपैयाँको आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विश्वस्तरमा पनि यो सफलता सीमित खेलाडीले मात्र पाएका छन् ।
संघका अध्यक्ष मुल्मीका अनुसार अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले १४७ ब्रेक प्वाइन्ट ल्याउन सकेका छैनन् । हलमा नेपालको नम्बर एक रेगन श्रेष्ठले बुधबार १४० ब्रेक प्वाइन्ट ल्याएर कीर्तिमान बनाएको उनले जानकारी दिए ।
त्यसैगरी सेन्चुरी ब्रेक अर्थात १०० भन्दा बढी ब्रेकप्वाइन्ट ल्याउने खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा ८० भन्दा बढी ब्रेक प्वाइन्ट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, राइजिङ खेलाडी र अनुशासित खेलाडीलाई जनही ११ हजार तथा क्वाटरफाइनलमा पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताका लागि खेलाडीले ३ हजार रुपैयाँ दर्ताशुल्क बुझाउनुपर्नेछ ।