काठमाडौं । हिमालयन बैंकले लिमिटेडले भदौ १५ गतेदेखि वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।
जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई विक्री गरी बाँकी ६० प्रतिशत अर्थात १ अबै ५० करोड रुपैयाँ बराबरको १५ लाख हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
उक्त ऋणपत्र खरीदका लागि भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २९ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयरएनपी सिङ्गल ए माइनस इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्यून भएको संस्था जनाउँछ । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले मेरो शेयर वेवसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।