काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफामा १८ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ७१ लाख नाफा कमाएको यस लघुवित्तले गत आर्थिक वर्षमा भने करिव १६ करोड ७ लाख नाफा कमाएको छ ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३ दशमलव ४० प्रतिशतले वृद्धि हुँदै ५३ करोड ५२ लाख पुगेको छ भने संचालन नाफा १७ दशमलव ४७ प्रतिशतले घट्दै २३ करोड ६७ लाख पुगेको छ ।
३८ करोड ४० लाख चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १६ करोड माथि संचिति छ भने संचित मुनाफामा २९ करोड माथि संचिति छ ।
निक्षेप संकलन करिव २३ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५५ करोड पुग्दा कर्जा प्रवाह करिव २२ प्रतिशतलेनै वृद्धि हुँदै ७ अर्ब ७२ करोड पुगेको छ । त्यस्तै लघुवित्तले २० प्रतिशत धेरै ४ अर्ब ४५ करोड सापटी लिएको छ ।
लघुवित्तले एनएफआरएस प्रणालीमा वित्तिय विवरण सार्वजनिक गरेको हुनाले वितरणयोग्य मुनाफा पनि सार्वजनिक गरेको छ । लघुवित्तको वितारणयोग्य मुनाफा ११ करोड १४ लाख रहेको छ ।