काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आइपीओ आज मंगलवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज बाँडफाँड हुने जनाएको छ । आइपीओको प्रि अलोटमेण्ट आइतवार सम्पन्न गरी आज बाँडफाँडको तयारी भएको हो ।
आइपीओमा अन्तिम दिनसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका थिए । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । यस आधारमा आईपीओमा माग भन्दा २५ दशमलव ७१ गुणा बढी आवेदन परेको हो ।
यस आधारमा आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो ।
जस मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।