काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने समय थप भएको छ । अब कम्पनीको आइपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि आइपीओ निष्काशन गरेको हो । स्थानीयमा जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
शेयर खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक खरीदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस आइएस रेटिङ प्रदान गरेको छ ।
यस आइपीओ खरीदका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ साल मंसिर २३ गतेदेखिनै विद्युत् उत्पादन गर्दै आएको छ ।