काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आज ३१ गते गर्ने भएको छ । कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले यस वर्ष ९ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
पहिलो कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि कम्पनीले ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी ७ करोड २४ लाख ४१ हजारको आधारमा ९ दशमलव ३३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
सभाले संस्थापक तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट दुई गरी ६ सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान उपयुक्त देखिएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ। बुक क्लोजको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।