काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज जेठ २४ गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
उक्त आइपीओमा छिटोमा असार ७ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आइपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।