काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०.१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत र ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।
बैंकको यो ऋणपत्रलाई केयर रेटिङ नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ प्रदान गरेको छ ।
यस ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यस ऋणपत्र छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ भने यस अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।