काठमाडौं । बैशाख २८ गतेदेखि सार्वजनिक निष्काशन गरेको रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा मंगलवारसम्म मागभन्दा ६ दशमलव ९३ गुणा बढी आवेदन परिसकेको छ ।सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार मंगलवार साँझसम्म १५ लाख १७ हजार २८ जनाबाट रू। १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताको शेयर खरीद माग भएको हो ।
कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँड गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्काशन गरेको हो ।
सर्वसाधारणले यो आइपीओ खरीदका लागि छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ११ गतेसम्म विक्री खुला हुनेछ । यस आइपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।