काठमाडौं । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी देखाएर सटहीको सुविधा दिने पाउने व्यवस्था थप गरिदिएको छ । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ को पहिलो संशोधनमा उक्त व्यवस्था थप गरिएको हो । यस्तो सुविधा थप गर्न चाहने मनिचेञ्जरले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिनु पर्नेछ ।
विनियमावली संशोधन गर्ने क्रममा मनिचेञ्जरले यस्तो इजाजतपत्रको लागि थप २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । यस्तो सुविधा प्रदान गर्ने गरी इजाजतपत्रको लागि थप २ लाख रुपैयाँ धरौटी समेत जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले कुनै कारणवश तीन दिनसम्म मनिचेञ्जर बन्द गर्नु पर्ने भएमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । यदि तीन दिन भन्दा बढी समयका लागि बन्द गर्नु पर्ने भएमा अनिवार्य रुपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।