काठमाडौं । चैत १६ गतेदेखि विक्री खुला गरेको प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको ऋणपत्र खरीदका लागि आवेदन दिने छिटो अवधि चैत २१ गते रहेपनि माग बमोजिम आवेदन नपरेका कारण ढिलो अवधि अर्थात् आज ३० गतेसम्म विक्री खुला गरेको बैंकले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ ।
कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ ।
सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ ।
यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यस रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ ।
उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरीदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।