काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कुल शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणमा वितरण गर्ने कम्पनीले जनाएको छ ।
आईपीओमा सोमवारसम्म मागभन्दा ९४ दशमलव ९३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार सोमवार साँझ ५ बजेर ५६ मिनेटसम्म १८ लाख ३८ हजार ५३२ जनाले २ अर्ब ९ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ९६ हजार २०० कित्ताको लागि आवेदन दिएका हुन् ।
आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आवेदकले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।