काठमाडौं । बीमा कम्पनीहरुले वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार पारी बीमा समितिबाट स्वीकृत गराउनु पर्ने भएको छ । बीमा समितिले ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’ लाई संसोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो ।
बीमा कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी संचालक समितिबाट स्वीकृत गराउनु पर्नेछ । यसरी सञ्चालक समितिबाट स्वीकृत भएको १५ दिन भित्रमा बीमा समितिमा पेश गर्नु पर्ने भएको छ ।
सञ्चालक समितिले बनाएको वार्षिक नीति तथा कार्यक्रम र बजेटको प्रत्येक त्रैमासिक अवधिमा समिक्षा गर्नु पर्ने भएको छ । यस्तो त्रैमासिक समिक्षा भएको मितिले ७ दिन भित्रमा बीमा समिति समक्ष पेश गर्नु पर्ने भएको छ ।
बीमा कम्पनीले वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसार आफुलाई सञ्चालन गर्नु पर्नेछ । जसमा क्यापिटल प्लानदेखि लिएर कर्मचारी भर्ना, नियुक्ति, बढुवाको योजना बनाउनु पर्नेछ । कम्पनीले प्रचलित निर्देशन र निर्देशिका अनुसार योजना बनाउनु पर्नेछ । यसले गर्दा कम्पनीहरु व्यवस्थित रुपमा अगाडी बढ्ने समितिको तर्क छ ।