काठमाडौं । ग्रीन भेन्चर्सले आज फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशलते हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आइपिओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ ।
आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपलिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आइपिओमा आवेदन दिन पाउने छन् ।
प्रभावित क्षेत्रबा बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । कम्पनीले छिटोमा फागुन १६ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत एक गतेसम्म बिक्री गर्नेछ । यदि यस अवधिमा पनि बिक्री नभएमा बाँकी रहेको शेयर सहित सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।
कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । ग्रिन भेन्चरले रामेछाप जिल्लामा ५२।७ मेगावाट क्षमताको लिखु ४ खोला जलविद्युत आयोजनाको निर्माण गरेको छ ।
आयोनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको विद्युत उत्पादन बाँकी अवधि २५ वर्ष ८ महिना रहेको छ । पे व्याक परियड भने ८ वर्ष रहेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको हुँदा कम्पनीले व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।