काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आइपीओ प्रि अलोटमेन्ट आज सम्पन्न गरिसको छ । उक्त आइपीओ आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएमा आज नै बाँडफाँडको तयारी गरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आईपीओमा अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० आवेदकबाट ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ६६ दशमलव ६५ गुणा बढी हो ।
कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिने व्यवस्था थियो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिने व्यवस्था थियो ।