काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथौ वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । वितेका चार वर्षको अवधिमा उत्साहजनक जनविश्वास र माया प्राप्त गरेको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले समस्त नेपालीहरु माझ सुरक्षित भविष्यका लागि जीवन बीमा वारे सचेत गराउँदै र ग्राहक सेवालाई अझ विस्तार गर्ने प्रण गरेको छ । यस अवधिमा कम्पनी प्रति अगाध माया, विश्वास र सहकार्य गर्दै साथ दिनुहुने समस्त ग्राहक सेवाग्राहीहरु, बीमा अभिकर्ता, कर्मचारी एवम् सरोकारवाला सबै प्रति कृतज्ञता ज्ञापत गरेको छ । कम्पनीले आगामी दिनहरुमा पनि सबैको हौसला, विश्वास र सहयोगको निरन्तरताको अपिल सहित अझ सरल, सुलभ, गुणस्तरीय एवं आधुनिक सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यहरु गर्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिए । यसै अवसरमा कम्पनीले समता स्कुललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्रभु समुहबाट संस्थापित यस कम्पनीमा प्रभु बैंक, सांग्रिला विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, प्रभु क्यापिटल लगायत १२ वटा संस्थागत शेयरधनी रहेका छन् । कम्पनीमा नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायीको समुहको लगानी रहेको छ । कम्पनीमा १७४ जना संस्थापक शेयरधनीहरु छन् । गत वर्ष प्राथमिक शेयर निष्काशन भए सँगै सर्वसाधारण लगानीकर्ताको पनि प्रवेश भएको छ ।
कम्पनीले स्थापनाकालदेखि हालसम्म तीन अर्ब ८२ करोड रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन गरिसकेको छ । यस अवधिमा २ लाख ७० हजार भन्दा धेरै बीमा पोलिसी बिक्री समेत गरिसकेको छ । कम्पनीले चार वर्षको दौरानमा बीमितहरुलाई १५ करोड ८३ लाख रुपैयाँको दाबी भुक्तानी समेत दिइसकेको छ । कम्पनीले बीमितलाई प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनशदर दिएको छ ।
जीवन बीमा कम्पनीहरुको महत्वपुर्ण सूचकका रुपमा रहेको जीवन बीमा कोषमा २ अर्ब ३० करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याएको प्रभुको जगेडा कोषमा ४२ करोड ४४ लाख रुपैयाँ भन्दा धेरै छ ।