काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव चरम उत्कर्षमा पुगेको छ । बैंकहरु लगभग कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । कतिपय बैंकहरुले क्षमता भन्दा बढि कर्जा विस्तार गरिसकेका छन् । एक महिनाको अवधिमा बाणिज्य बैंकहरुमा ४५ अर्ब रुपैयाँले निक्षेप खुम्चिदा ३० अर्बको कर्जा विस्तार भएको छ । बैंकहरुले लिक्वीडिटी मिसम्याच गर्दा सिडी रेसियो पनि ९० प्रतिशत भन्दा माथि ९०.१८ प्रतिशत पुगेको छ । जवकी नेपाल राष्ट्र बैंकको नीति अनुसार सिडी रेसियो ९० प्रतिशत भन्दा माथि हुनु हुँदैन ।
चाडवाडको समयमा निक्षेपकर्ताले पैसा झिक्दा निक्षेप संकलन घटेको बताउदै गर्दा विगत एक महिनामा लगातार पैसा बाहिरिने क्रम बढिरहेको छ । गत असोज ३१ गते बाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो । तर कार्तिक २६ गतेसम्ममा निक्षेप घटेर ४२ खर्ब ३२ अर्बमा खुम्चिएको छ ।
यसै अवधिमा कर्जा लगानी भने बढिरहेको छ । कार्तिक चौथो सातामा मात्रै तीन अर्बले कर्जा विस्तार गरेका छन् । १५ अर्बले निक्षेप संकलन खुम्चिदा कर्जा भने तीन अर्बले बढेको देखिन्छ । पछिल्लो एक महिनामा ३० अर्ब रुपैयाँले कर्जा विस्तार भएको छ । यस अवधिमा बैंकहरुले पुरानो निक्षेपबाट कर्जा विस्तार गरेका हुन् ।
बैंकहरुमा तरलता अभाव चरम उत्कर्षमा पुगेपछि अर्थमन्त्री जनार्दशन शर्माले गभर्नर महाप्रसाद अधिकारी सहित बैंकहरुलाई बोलाएरै छलफल गरेका थिए । बैंकरहरुले पैसाजति राज्यको ढुकुटीमा थुप्रिएर समस्या थप बढेको भन्दै सरकारलाई खर्च बढाउन सुझाव दिएका थिए ।
अर्थमन्त्रालयले राष्ट्र बैंकलाई अहिलेको व्याजदर भन्दा माथि बढ्न नहुने भन्दै निर्देशन दिएको छ । उच्च अंकले व्याजदर बढ्दै गर्दा कोभिड १९ ले थिलिएको अर्थतन्त्र थप धरासायी हुने भन्दै व्यवसायीहरुले अर्थमन्त्रीलाई व्याजदर नबढाउने पहल गरिदिन अनुरोध गरेका छन् ।
अर्थमन्त्री तथा व्यवसायीले व्याजदर नबढाउन अनुरोध गरे पनि बैंकिङ प्रणालीबाट लगातार पैसा बाहिरिरहेको छ । केहि रकम नेपाल आयल निगमले इन्धन खरिदका लागि पैसा पठाइरहेको छ । निगमले घटामा तेल बिक्री गर्नु परेको भन्दै आफ्नो जगेडा कोषको रकम झिकेर खरिद गरिरहेको छ । यसले पनि बैंकिङ प्रणालीमा केहि असर पारेको देखिन्छ । त्यस्तै निक्षेपकर्ताले खाताबाट पैसा झिकेर दशै तिहार तथा छड पर्व मनाउन खर्च गरेका छन् । उनिहरुले आफ्नो निक्षेप झिके पछि उक्त पैसा व्यापारी मार्फत पुनः बैंकिङ प्रणालीमा आउछ । तर आयात पनि उत्तीकै बढिरहेको छ । विदेशबाट सामान आयात गर्दा पनि बैंकिङ प्रणालीबाट पैसा बाहिरिन्छ ।