काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मन्जुश्री फाइनान्सको ९२ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको थियो ।
मन्जुश्री फाइनान्सका शेयरको न्यूनतम मूल्य २५० रुपैयाँ र ज्योति विकास बैंकको मूल्य १५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।
कात्तिक ११ गतेदेखि विक्री खुला भएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
बोलपत्र कात्तिक २२ गते बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले बताएको छ ।