काठमाडौं । एनएमबी बैंक पहिलो त्रैमाशिक अवधिमै अर्बपति क्लबमा उक्लिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंकले ४२.४९ प्रतिशतले मुनाफा बढाएको छ । यस अवधिमा बैंकले एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ जवकी गत वर्षको यहि अवधिमा बैंकको नाफा ७३ करोड २९ लाख रुपैयाँ मात्रै थियो ।
बैंकले खुद व्याज आम्दानी भन्दा अन्य किसिमका कमिसन तथा सेवाबाट आम्दानी बढाएको छ । खुद व्याज आम्दानी ४.७८ प्रतिशतले बढाएर एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ त्यस्तै अन्य कमिसन तथा सेवा शुल्क मार्फत ५८ करोड रुपैयाँ आर्जन गरेको छ । यसैले गर्दा बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको हो ।
असोज मसान्तसम्ममा बैंकले एक खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । पूँजीकोष अनुपात केहि बढेर १४.४८ प्रतिशत पुगेको छ । खराब कर्जा भने २.२६ प्रतिशतबाट घटाएर १.८५ प्रतिशतमा झारेको छ । मुनाफामा बृद्धि भए सँगै प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट २५ रुपैयाँ पुगेको छ ।