काठमाडौं । बेष्ट फाइनान्सले खराब कर्जा असुली गरेर मुनाफामा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा फाइनान्स ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा थियो ।
मुनाफामा सुधार भए सँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि राम्रो सुधार भएको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ रहेको छ । मुनाफामा राम्रो सुधार देखिए पनि अझै सञ्चित जगेडा कोष २७ करोड २५ लाख रुपैयाँले ऋणात्मक छ । व्याजदर खर्च बढ्दा फाइनान्सको खुद व्याज आम्दानीमा गिरावट देखिएको छ । यस्तो आम्दानी २ करोड ८२ लाख रुपैयाँबाट २ करोड ७२ लाख रुपैयाँमा झरेको छ । फाइनान्सले कर्जा रिकभर तथा अन्य आम्दानीबाट मुनाफा बढाएको हो । फाइनान्सको खराब कर्जा १४.२६ प्रतिशतबाट ४.०५ प्रतिशतमा झार्न सफल भएको छ ।