काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ प्रि -अलोटमेन्ट सम्पन्न भएको छ । उक्त आइपीओ आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएपछि यसै साताको शुक्रबार बाँडफाँडको तयारी गरेको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २२ लाख ८२ हजार २७ जना आवेदकहरूले २ करोड ७६ लाख १५ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १३ दशमलव १९ गुणा धेरै हो ।
कम्पनीले असोज १५ गतेबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । निष्काशन गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
यस अघि कम्पनीले कम्पनीले भदौ १ गतेदेखि लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।