काठमाडौं । बढ्दो व्याजदरको प्रभाव शेयर बजारमा देखिएको छ । अधिकाम्स बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर सँगै कर्जाको व्याजदर पनि बढाउदा शेयर बजारमा ६९.५१ अंकको पहिरो गएको छ । बैंकहरुले मुद्दती निक्षेपको व्याजदर दोहोरो अंक कायम गरेका छन् । अझै अर्को महिनामा पनि व्याजदर बढ्न सक्ने आकलनले शेयर बजारमा पहिरो गएको हो ।
बैंकहरुमा तरलता सहज भएको भन्दै दशै अगाडि शेयर बजार सुधार भएर बन्द भएको थियो । तर बजारमा तरलता सहज भएको जति सुकै चर्चा भए पनि अन्तत बैंकहरुले व्याजदर बढाएका छन् । बाणिज्य बैंकहरुमै पैसा जम्मा गर्दा १० प्रतिशत भन्दा राम्रो प्रतिफल पाउने भए पछि ठुला लगानीकर्ताको रोजाइमा बैंकको मुद्दती निक्षेप परेको हो । शेयर बजारमा लगानी गर्दा प्रतिफलको सुनिश्चितता छैन ।
यस्तो माहोलमा शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु बजारमा प्रवेश गर्ने छाटकाट देखिदैन । कतिपय बजार विश्लेषकहरुका अनुसार अर्थतन्त्र नाजुक अवस्थामा रहेको र चुनावी माहोल नजिकिदै गर्दा चुनाव खर्च जोहो गर्ने क्रममा सेलिङ प्रेसर बढिरहेको छ । दशै अगाडी शेयर खरिद गर्नेहरुले नै अहिले शेयर बिक्री गरिरहेका छन् ।
बैंकहरुले मार्जिन कल गर्ने क्रम बढिरहेको छ । मार्जिन कल आउने वित्तीकै आत्तीएर शेयर बिक्री गर्नेहरुका कारणले पनि बजारमा सेलिङ प्रेसर बढिरहेको छ । बजार बढ्ने भन्दा पनि घट्ने सूचना हाबी हुँदा लगानीकर्ता आत्तीएका हुन् । लगातार घट्ने क्रममा कहिलेदेखि वाउन्स व्याक हुन्छ भन्ने कौतुहलता भने बढिरहेको छ । बजार घटेपछि बढ्छ तर कहिलेदेखि बढ्न सुरु गर्छ भन्ने एकिन छैन ।
ब्रोकरहरुका अनुसार बजार अहिले नै सुधार भइहाल्ने अवस्था छैन । उनिहरुका अनुसार बजार सुधार हुन बाँकी नै छ । पैसा हुनेले विस्तारै शेयर खरिद गर्दा केहि फरक पर्दैन तर तत्काल बाउन्स व्याक हुने अवस्था भने छैन । बजार अझै केहि समय तल झरेपछि सुधार हुने उनिहरु बताउछन् । बजार सुधार हुन कि त चुनाव घोषणा हुनु पर्छ वा तरलता सहज हुने संकेत देखिनु पर्छ ।
सोमबार नेप्से सूचक २ दशमलब ६२ प्रतिशतले घटेको छ । गत महिना २५७० अंकसम्म तल झरेर २६८१ अंकसम्म पुगेको थियो । तर बजार तग्न सकेन । प्राविधिक विश्लेषकहरुले शेयर बजार ४ हजार अंकसम्म पुग्ने आकलन गरे पनि बजार पुनः ओरालो झर्न थालेको छ ।
सूचक सँगै कारोबार रकम पनि २ अर्ब ९६ करोड रुपैयाँमा सिमित भएको छ । आत्तीएर शेयर बिक्री गर्ने बाहेक अन्य लगानीकर्ताले घटाएर खरिद गर्न खोजिरहेका छन् । सोमबार ४ वटा कम्पनीको शेयर मूल्य बढे पनि १८२ वटाको मूल्य घटेको छ । आज सबैभन्दा धेरै नविल बैंकको ९ करोड ८९ लाख रुपैयाँको खरिद बिक्री भएको छ । घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै घट्ने क्रममा नकारात्मक सर्किट लागेको छ ।