काठमाडौं । साहस उर्जा लिमिटेडलेको प्राथमिक शेयर (आइपीओ) प्रि अलोटमेन्ट आज सम्पन्न भएको छ । कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाउने र उताबाट स्वीकृति आएमा आगामी साताको आइतबार बाँडफाँड गर्ने सम्भावना रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकति मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो ।
आइपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार हिजो साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ५।६२ गुणा बढी आवेदन हो ।
सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था थियो । कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु खोला ‘दुधकोशी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
इक्रा नेपालले प्राथमिक शेयर निष्काशनका लागि गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्रा आइआर डबल बि’ प्राप्त गरेको छ ।