काठमाडौं । एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सिइओ सुदेश खालिङले कार्यभार सम्हालेका छन् । बैंकको सञ्चालक समितिले ५ हिना अगाडि नै नियुक्ति दिए पनि कुलिङ पिरियडका कारण कार्यभार सम्हाल्न पाएका थिएनन् ।
स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई मात्रै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिदै आएकोमा यस पटक भने नेपालीलाई नै जिम्मेवारी सुम्पेको छ । भारतबाट प्रमुख कार्यकारी अधिकृत ल्याउदा व्यवहारिक कठिनाइ भोग्नु पर्नेको भन्दै बैंकले नेपालीलाई नै उक्त जिम्मेवारी दिएको हो ।
बैंकमा भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत शेयर रहेको छ । सुरुवाती संझौतामै पञ्जाव नेशनलले प्रविधि तथा उच्च व्यवस्थापन आफुले ल्याउने रहेको छ । खालिङले सिटिजन्स बैंकको सञ्चालक सदश्यबाट राजिनामा दिएर एभरेष्ट भित्रिएका हुन् । त्यस भन्दा अगाडि उनि लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । त्यस भन्दा अगाडी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख सूचना अधिकृत थिए । बैंकिङ क्षेत्रमा ३३ वर्षको अनुभव रहेका खालिङ परिचित बैंकर हुन् ।