काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा २० गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार साढे ४ बजेसम्ममा ५ लाख ८१ हजार ६३३ जना आवेदकबाट ७९ लाख २ हजार ५१० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले आज साउन २७ गतेदेखि आईपीओ निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गलगर्न लागेको हो ।
निष्काशन गर्न लागेको आइपीओमध्ये ५ हजार ४६९ कित्ता अर्थात ५ प्रतिशत कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई छ ।
आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।
आवेदकले यस आईपीओमा छिटोमा साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।