काठमाडौं। गणपति लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरुले तलब तथा सेवा सुविधा नबढाएको भन्दै सामुहिक राजिनामा दिएका छन् । लघुवित्तको कर्मचारी विनियमावली अनुसार हरेक दुई/दुई वर्षमा तलब तथा सेवा सुविधा बढाउनु पर्ने व्यवस्था छ । सोहि अनुसार साउनको पहिलो सातामा तलब सुविधा बढाउने निर्णय नगरेपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।
शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिए सँगै संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापनले नियम अनुसार तलब तथा सेवा सुविधा बढाउनका लागि बैठक बसिरहेको मानव संसाधन तथा प्रशासन विभाग प्रमुख प्रभु राज थापाले जानकारी दिए ।
शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिए संगै संस्थाको बोर्डले यसका लागि आवश्यक प्रकृयाँ अगाडि बढाउन निर्देशन दिइसकेको छ । उनले भने ‘साथिहरुले आवेगमा आएर यस्तो नगर्नु भएको भए पनि हुने थियो । नियम अनुसार संस्थाले गर्ने काम गरिहाल्छ ।’
कर्मचारीहरुले तलब सुविधाका साथै स्वास्थ्य बीमाको लागि पनि माग गरेका छन् । शाखा प्रमुखहरुले कोभिड १९ को महामारीको समयमा पनि गाउँ गाउँमा गएर काम गरेको तर संस्थाले भने आफ्नो सेवा सुविधाका विषयमा हेर विचार नगरेको भन्दै उनिहरु आन्दोलमा उत्रिएका हुन् ।