काठमाडौं । असार ६ गतेबाट विक्री खुला गरेको एनआईसी एशिया बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८८’ को नाममा ऋणपत्र निष्काशन गर्न लागेको हो ।
उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
ऋणपत्रक निष्काशन तथा बिक्री प्रबन्धकमाा सनराइज क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र खरिदका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने छ ।
त्यस्तै,सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर रहनेछ । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
उक्त ७५ करोड रूपैयाँ बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कुल ४५ करोड रूपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ३० करोड बराबरको ऋणपत्र (मध्ये ५ प्रतिशत अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् भने मेरो शेयर सफ्टवेयरमार्फत पनि अनलाइनबाट आवेदन दिन सक्नेछन् ।