काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ २५ गतेदेखि ६ वर्षे अवधिको (२०८३’)वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्न लागेको हो ।
कुल निष्काशनमध्ये बैंकले ६० प्रतिशत अर्थात् १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ, भने ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने कूल एक अर्ब ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ २५गतेदेखि छिटोमा जेठ २८ गते र असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकलाई इक्रा नेपालले ‘केयर एनपी सिंगल प्लस’ रेटिङ दिएको छ ।
उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।