काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले आजदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई निष्काशन तथा विक्री खुला गरेको छ ।
कुल इकाई मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशनमा ल्याएको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस इकाई छिटोमा बैशाख १६ गते र ढिलोमा बैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।
एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँड भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जनाएको छ ।
इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटल,आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।