काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले व्यक्तिगत आयमा लाग्ने आभारभुत कर छुटको सीमा बढाउन सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि एसोसिएसनले दिएको सुझावमा अहिलेको आधारभूत कर छुटको सिमा थोरै भएकोले बढाउन सुझाव दिइएको हो ।
संघले आयकरमा छुटको सिमा वृद्धि गर्नको लागि सुझाव दिएको छ । संघको सुझावमा भनिएको छ ’व्यक्तिगत आयमा आधारभुत कर छुटको सीमा बढाउनु पर्ने । यसै गरी एक लाख सम्मको व्यक्तिगत जीवन बीमामा कर छुट गरिनुपर्ने; कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको ब्याज रकमलाई सिमा निर्धारण गरी कर योग्य आयबाट घटाउन पाइनु पर्ने; कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तरसम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सिमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने ।’
अहिले अविवाहित व्यक्तिको वार्षिक ४ लाख रुपैयाँसम्म र विवाहित व्यक्तिको वार्षिक साढे ४ लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर लाग्छ ।
एसोसिएसनले यो सिमा बढाउन भने पनि बढाएर कति पुर्याउने भन्ने सुझाव दिएको छैन । तर, बैंक तथा वित्तीय संस्थाको संचालक समितिका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले दिएको सुझावमा भने आयरकको सिमा कम्तिमा पनि ८ लाख रुपैयाँ पुर्याउनु पर्ने सुझाव दिइएको छ ।
यस्तै, बैंकर्स एसोसिएसनले दिएको अर्थमन्त्रीलाई दिएको सुझावमा एक लाख रुपैयाँसम्मको व्यक्तिगत जीवन बीमामा कर छुट गरिनु पर्ने सुझाव दिइएको छ । अहिले २५ हजार रुपैयाँसम्म मात्रै छुट दिने व्यवस्था रहेको छ ।