काठमाडौं । बीमा समितिले बाल बीमा पोलिसीलाई परिमार्जन गर्ने भएको छ । समितिले बाल बीमा पोलिसीमा फ्रड हुन थाले पछि एक वर्ष अगाडि नयाँ पोलिसीलाई बन्द गरेको थियो । जीवन बीमक संघ र बीमा समितिको छलफल पछि एकाघर परिवार भित्रका सबै छोराछोरीको बीमा गर्नु पर्ने सहमति भएको छ ।
यदि दुई वटा छोराछोरी छन् भने दुबैको बीमा गर्नु पर्छ । कुनै एउटा बच्चाको १० लाख रुपैयाँको बीमा गर्ने योजना छ भने दुबैको ५/५ लाख रुपैयाँको बीमा गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
बालबीमा पोलिसीलाई परिमार्जन गर्दै सबै बच्चाको बराबर बीमा गर्नै पर्ने व्यवस्था गरिएको छ । बाल बीमा पोलिसीमा अभिभावकको जोखिम बहन गर्ने मापदण्डलाई भने यथावत राखिएको छ । यदि अभिभावकको जोखिम बहन नगर्ने अवस्था छ भने ५० लाख रुपैयाँसम्मको पोलिसी बिक्री गर्दा अभिभावकको बीमा नभए पनि हुने व्यवस्था गर्न लागिएको छ । तर ५० लाख रुपैयाँ भन्दा माथिको बीमा पोलिसी छ भने अभिभावकको अनिवार्य बीमा हुनै पर्ने व्यवस्था गरिएको छ । अवदेखि अभिभावक नभएका बालबालिकाको बीमा गर्नु पर्यो भने ५० लाख भन्दा माथिको बीमा गर्न पाइदैन ।
बच्चाको मृत्यु हुँदा तत्काल अभिभावकले पैसा पाउने व्यवस्था रहदै आएको छ । अवदेखि बच्चाको मृत्यु भयो भने अभिभावकले २५ प्रतिशत मात्रै दाबी पाउने व्यवस्था गर्न लागिएको छ । बाँकी ७५ प्रतिशत रकम उक्त पोलिसी परिपक्व भए पछि मात्रै भुक्तानी हुने व्यवस्था गर्न लागिएको हो । बीमा समितिले अहिलेसम्म सर्कुलर जारी गरेको छैन । तर जीवन बीमक संघ र बीमा समिति विचमा भने प्रारम्भिक सहिमति भैसकेको छ ।
बालबालिका बीमा पोलिसीमा धेरै नै विकृति देखिन थाले पछि बीमा समितिले यो पोलिसीलाई नै बन्द गरेको थियो । नेपालको सन्दर्भमा बालबालिका बीमा पोलिसी धेरै नै बिक्ने भएकाले कम्पनीहरुको आग्रहमा बीमा समितिले पुनः स्वीकृति दिने गृहकार्य गरिरहेको छ । सर्कुलर आउने वित्तीकै बीमा कम्पनीहरुले बालबालिकाका लागि जारी गर्ने नयाँ पोलिसीको स्वीकृति पाउने छन् ।