काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज चैत १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले दशौं र एघारौं वार्षिक साधारण सभा बैशाख ७ गते गर्ने भएको छ । संस्थाको चैत ११ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो । सभा टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा बिहान ८ बजेबाट सुरू हुने संस्थाले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा संस्थाको शेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।