काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढिको आवेदन परे पछि आजदेखि बिक्री बन्द गर्ने भएको छ । हालसम्म सिंगटी हाइड्रोको लागि साढे १२ लाख भन्दा धेरैले एक करोड ९० लाख भन्दा धेरै कित्ताको लागि आवेदन दिएका छन् ।
गत चैत ६ गतेदेखि निष्काशन भएको प्राथमिक शेयरमा आजको बैंकिङ समयभित्र आवेदन दिन सकिने छ । सर्वसाधारणका लागि जारी गरिएको २९ लाख कित्ता मध्ये ५८ हजार कित्ता कर्मचारीका लागि र एक लाख ४५ हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । बाँकी २६ लाख ४० हजार कित्ता आज सर्वसाधारणले प्राप्त गर्ने छन् ।
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको प्राथमिक शेयरलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ ।