काठमाडौं । सिभिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको माघ १५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको दशौँ वार्षिक साधारण सभा फागुन ९ गते गर्ने भएको छ । उक्त सभा बैंकको केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा बैंकको पुस २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ नगद (कर प्रयोजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।
त्यसैगरी सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेको छ ।