काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमध्ये सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्ने जनाएको छ ।
बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
माघ २२ गते बिहीबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने जनाइएको छ ।