काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजसम्म किन्नेले ५१ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले उक्त लाभांश पारित लगायतका विभिन्न एजेण्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बिसौँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पेश हुँदैछ । यस प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।
त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा छ ।