काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीमा आवेदन भरेका कूल १० लाख ५१ हजार २१६ जना आवेदक मध्ये पाँच लाख ४० हजार जना सर्वसाधारणले १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।
प्रभु लाईफ इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०९ रुपैयाँ ५६ र अधिकतम ३२८ रुपैयाँ ६८ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।
पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । प्रभु लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ असार मसान्तको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०९ रुपैयाँ ५६ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । यदि आर्थिक वर्ष ७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने ११२ दशमलव ९४ को आधारमा रेञ्ज (११२.९४ देखि ३३८.८२ ) तय हुने थियो ।
दुई अर्ब जारी पुँजि रहेको कम्पनीमा एक अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनी छन् । सर्वसाधारणको लागि छुट्टाएको ६० करोड रुपैयाँको आईपिओ मध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्टयाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । आईपिओ यही मंसिर २९ गतेदेखि पुस २ गतेसम्म खुल्ला गरिएको थियो ।